This article has been originally published in today’s Kantipur. Here is the original link
‘हामी भान्सामा मात्रै होइन, सिंहदरबारमा पनि हुनैपर्छ,’ अगाडि बसेकी एक महिलाले नारा लगाइन् ।
‘हुनैपर्छ, हुनैपर्छ,’ बाँकीले स्वर दिए ।
कुरा केही साता अगाडिको हो, करिब ६०-७० जना महिलाहरूको समूह सिंहदरबार अगाडि ‘राज्यको पुनर्संरचनाको प्रक्रियामा र नयाँ संविधानमा ५० प्रतिशत महिलाहरूको साझेदारी’ को माग राख्दै नारा लगाइरहेका थिए । म त्यही महिला जमातमा थिएँ । भर्खरैमात्र सुवास नेम्बाङ सभामुख नियुक्त भएको त्यस अवस्थामा एउटीले नारा लगाइन्- ‘सभामुखको सिटमा महिला हुनैपर्छ ।’
त्यसलाई बीचैमा काटेर अर्कीर्ले ‘त्यो त अर्कै भइसक्यो’ भनेपछि नारा ‘सभामुखको सिटमा महिला हुनैपथ्र्यो’ मा परिवर्तन गरियो । छेवैका दुई महिला भने भान्छाकै नारामा अल्भिmरहेका थिए ।
‘बढ्ता-बढ्ता नबोल । भात नपकाए भरे मार्लान् नि !,’ एउटीले चेतावनी दिइन् ।
त्यतिखेरसम्म नारामा हल्का बदलाव आइसकेको थियो ।
‘डाडु-पन्युमा सीमित होइन, सिंहदरबारभित्र हुनैपर्छ ।’
ती महिलाले आफ्नी साथीलाई फेरि भनिन्- ‘यस्तो ठाउँमा बसेर पनि के डाडु-पन्युको कुरा गरेको होला !’
जिस्किँदै उनकी अर्की साथीले थपिन्- ‘उहाँ डाडु-पनिउँ छाड्नु हुन्न रे !’
‘कति न उसले छाडेर खान पाउँछु भन्ठान्दी हो । चाहिने कुरा पो गर्नुपर्छ,’ प्रत्युत्तर आयो ।
म रमाइलो मानेर गफ सुनिरहेँ । त्यो महिला जमातमा म र मेरी एउटी साथीभन्दा कम उमेरका कोही थिएनन् । -मचाहिँ केही दिनअगाडि मात्रै २१ वर्षमा लागेँ ।)
‘के म पनि कुनै दिन यस्तै ‘भात नपकाए मार्लान्’ भन्नेमध्ये एक हुन्छु त ?’ आफैंलाई प्रश्न गरेँ । राजधानीको निजी कलेजमा ‘जेन्डर’ की एक विद्यार्थीको जीवनमा पनि त्यस्तो दिन आउने हो भने बाँकी ५७.५१ प्रतिशत असाक्षर नेपाली महिलाको जीवनमा के परिवर्तनको आस गर्नु ? यस्तो प्रश्न मेरो दिमागमा आउनु पनि हुन्न भनेर मैले त्यो सोचलाई पन्छाएँ ।प्रसंग ‘जेन्डर’ कक्षाकै जोडौं । एक दिन एक पुरुष सहपाठीले बढो घतलाग्दो कुरा गरे । ‘अहिलेको आवश्यकता महिलाहरू ‘प्राइभेट’ बाट ‘पब्लिक’ गतिविधिमा जानुमात्र होइन पुरुषहरू दुवै गतिविधिमा समाहित हुनु हो ।
बहुदल आयो, देशमा एकपटक मात्र होइन दुईपटक जनआन्दोलन भयो । पहिलोमा महिला सहभागिताको झल्को मीन बज्राचार्यको त्यो चर्चित फोटोमा मात्रै पाइन्छ भने यसपालिको अपि्रल क्रान्तिमा चाहिँ आफ्नो अधिकार प्राप्तिका लािग महिलाहरूको महासागर नै सडकमा उत्रेको देखियो । नयाँ व्यवस्थामा हाम्रा लागि समान अवसर चाहिन्छ भनेर धर्ना, जुलुस, र्याली, महिला सांसदहरूबाट पद त्यागको धम्की के मात्र भएनन् ? अन्ततोगत्वा ५०-५० को माग पनि एक असजिलो सम्झौताको रूपमा ३३ प्रतिशतमा झारियो । ५० बाट १७ जस्तो अनौठो अंक घटाएर ३३ मा किन पुर्याइएको होला भन्ने कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेकी छैन । केबल नीतिगत परिवर्तनले महिलाको सामाजिक जीवनमा बदलाव ल्याउन सक्दैन । कुनै पनि महिलालाई ‘तिम्रा लागि ३३ प्रतिशत छ है’ भन्दैमा त्यसले ‘अर्थपूर्ण सहभागिता’ को ग्यारेन्टी गर्दैन । नीति-निर्माणकै तहसम्म पुगे पनि ‘भात नपकाए मार्लान्’ भन्ने त्रसित मानसिकता भएकी महिलालाई महिला सशक्तीकरणको उदाहरण कसरी मान्ने ? पहिले महिला भएर विभेदपूर्ण सामाजिक चालचलनलाई चुनौती दिन सक्नु पर्यो नि !
एक्काइसौ शताब्दी हो, जमाना ‘टेक्नोक्र्याट’ हरूको छ । वेश्यावृत्ति पनि एक सम्मानजनक पेसा हो भन्नेजस्तो उदार सोच समाजले अँगालिसक्दा पनि हामी -महिला) डाडु-पनिउँबिनाको अस्तित्वको कल्पना पनि गर्न सक्दैनौं । ती कुराकानीका अदृश्य ‘मार्ने’ पात्रहरूलाई घरको जिम्मेवारी बाँड्दा के होला भनेर कल्पना पनि गर्न सक्दैनौं । सामाजिक चालचलन र रीतिरिवाज जति विभेदपूर्ण नै किन नहुन्, त्यसलाई प्रश्न नगर्नु हामी नेपाली महिलाहरूको धर्म भएको छ । प्रश्न नगरी परिवर्तनको आस गर्नु मूर्खता हो, हामी यथास्थितिमा रमाइरहेका छौं ।साउन लाग्यो, हामीलाई रातो सारीमा बेरिएर मन्दिर कुद्नै हतार छ । ग्यास्टिकको बिरामी भए पनि हामीलाई पतिदेवकै दीर्घायुको चिन्ता छ । यो कस्तो विचित्र परम्परा हो, आफ्नो अस्वस्थतामा अर्काको स्वस्थ जीवनको कामना ! बेलाबखतमा हाम्रा पि्रय श्रीमान्हरूले पनि त्यस्तै सोच्दा र गर्दा के हुन्थ्यो होला भनेर हामी प्रश्न गर्दैनौं । -प्रष्टीकरण दिइहालौं, मेरोचाहिँ विवाह भएको छैन) ।
हामी शिक्ष्ाित छौं, जागिर खान्छौं, घर सम्हाल्छौं, बालबच्चा हेर्छौ तर हाम्रा श्रीमान्हरू केबल जागिर खान्छन् । के लैंगिक समानता भनेको महिला काँधमा घरायसी जिम्मेवारीमा बाहिरी जिम्मेवारी थोपरिनुमात्रै हो ? हामी उत्तर खोज्दैनौं, यसमै रमाएझैं गर्छां ।
म आफूलाई यो देशका धेरै महिलाको तुलनामा विशेष सुविधाप्राप्त सम्भिन्छु । रोजाइको विषय पढिरहेकी छु, आफ्नोबारेमा निर्णय लिने स्वतन्त्रता छ मलाई, थोर-बहुत स्रोत-साधनमा पहुँच छ र ‘छोरी’ भएकै कारणले असक्षम छु भन्ने भान कहिल्यै भएन । तर एकातिर म कन्डोलिज्जा राइस, एन्जेला मर्केल र ओप्रा विन्पि|mलाई आफ्नो प्रेरणा मानेर अगाडि बढ्छु भने अर्कातिर मलाई मेरो सामाजिक यथार्थले गिज्याइरहन्छ । बितेका २० वर्षमा म कुनै यस्तो पारिवारिक जमघटमा पुगेकी छैन जहाँ उपस्थित एक वा अर्को महानुभावले मेरा आमा-बुबालाई ‘ए ! दुइटी छोरी मात्रै ? छोरा पनि पाउनुपर्ने’ नभनेका होउन् । सानो छँदा त्यस्तो सुन्दा कन्सिरीका रौं तातेर आउँथे तर अहिले त्यसो भन्नेप्रति दया जागेर आउँछ । त्यस्तो ‘चिन्ता’ दर्शाउने ज्यादा महिला नै हुन्छन् ।पितृसत्तात्मक सोचले हामीलाई यति जकडेको छ, हामी आफैं महिला हुनुमा गर्व गर्न सक्दैनौं । कस्तो विडम्बना !
कुनै मनुले ‘महिला सधैँ पुरुषका अधीनमा हुनुपर्छ’ के भनेका थिए, त्यो हाम्रा लागि जीवन यापन गर्ने मूलमन्त्र बनेको छ । पुरुष भएको नाताले स्वजातिलाई नै ठूलो तुल्याउने कुरा गर्नु स्वाभाविक हो भनेर हामी तर्क गर्न सक्दैनौं, व्यवहारमा लागू गर्ने त परै जावस् ।
दिगो परिवर्तन नीतिबाट होइन, व्यवहारबाट मात्र ल्याउन सकिन्छ । अब चुप लागेर बस्ने समय छैन । मेरो पुस्ताले आफ्नो सम्पूर्ण जीवनको उपलब्धि नै ‘दाग बत्ती’ र पिण्ड’ दिनुलाई मान्ने होइन, त्यो विभेदपूर्ण परम्परालाई चुनौती दिनुपर्छ । के हाम्रो पुस्तामा पनि कोही डाडु-पनिउँकै कुरा त गरिरहेको छैन



