राजनीतिमा म
Published in yesterday’s Kantipur
रंग दे वसन्ती । गत फेबु्रअरीमा यो फिल्म रिलिज हुँदा साथीभाइ माझ निकै उत्साह छाएको थियो । त्यसमाथि सिनेमामा नव ‘ह्यान्डसम’ युवा अभिनेताको आगमन । केटीलाई अरू के चाहियो ? फिल्म सबका लागि नहेरी नहुने बनेको थियो । निश्चय नै ‘जय नेपाल’ को त्यो बिहानी सो पश्चात् हामीमाझ हप्तौंसम्म फिल्मकै कुरा चल्यो । कम्प्युटर डेक्सटपमा ‘रंग दे बसन्ती’, एफएममा एआर रहमान, इन्टरनेटमा कुनाल कपुर -फिल्मका अस्लम) को ‘ब्लग’ र मुखमा ‘हट्के’ र ‘हिलादे’ जस्ता शब्द । फिल्मको असर सर्वत्र छायो । फिल्मप्रति खासै रुचि नराख्ने मान्छे पनि त्यसप्रतिको हाम्रो क्रेज देखेर अचम्मित भए । तपाईं पनि चकित हुनुभएको छ भने स्पष्टोक्ति दिइहालौं, जो निकै सरल छ । हाम्रा निम्ति उक्त सिनेमामा केही अन्जान ‘रिल’ पात्रको कथा कम र आफ्नै मनोवस्थाको ज्यादा चित्रण गरिएको थियो । बेपर्वाह बानी र मस्तीले भरिपूर्ण माहोलमा अस्तित्व खोज्ने र केही गर्ने तीव्र चाहना । फिल्ममा आफूलाई देख्नसकिने सबैभन्दा घतलाग्दो पक्षचाहिँ त्यसका पात्रले प्रणालीलाई बदल्न गरेको प्रयास । त्यो प्रयासका क्रममा आफैंमा परिवर्तन हुने यथार्थबाट उब्जिएको झ्याउलाग्दोपना र राजनीतिक वितृष्णाले हामीलाई बढी झक्झक्याएको हुनुपर्छ ।
हालैको अपि्रल क्रान्तिपश्चात् धेरै कार्यक्रममा सुनियो ‘नेपाली जनतामा जति राजनीतिक चेतना संसारका अरु कसैमा छैन’ रे । जनसङ्ख्याको ठूलो प्रतिशत ओगट्ने नेपाली युवाले क्रान्ति सफल तुल्याउन अहम भूमिका खेले । तीनको कुरा गर्दा सहरी र एमटीभी पुस्ताको चित्र कसैको मस्तिष्कमा आउँदैन । प्रचलित विश्वास के छ भने सहरी युवा विशेषतः निजी कलेज पढ्नेहरूमा राजनीतिक चेत न्यून छ । अपवाद धेरै भए पनि त्यो विश्वासमा सत्यता छ । क्रान्ति चलिरहेकै बेला त्यही ‘लेबल’ लागेकाहरूको एक समूह बन्न खोजेको थियो । राजधानीको एउटा निजी कलेजमा बसेर एकाध राउन्ड छलफलपछि कुनै राजनीतिक दलप्रति आबद्ध नभएका भन्दै समूहको नामकरण भयो । केही गरौं भन्दा-भन्दै आन्दोलन सकियो तर क्रान्तिका अन्तरंग विकास क्रम साह्रै रोमाञ्चक रहे । सोही छलफलमा निकै नाम चलेको कलेजका लेक्चररले आफ्ना विद्यार्थीको आन्दोलनमा सहभागिताबारे रोचक अनुभव सुनाए । एकदिन उनले कक्षामा ‘आन्दोलनमा कति जनाले भाग लियौ त ?’ भनेर सोध्दा केहीले हात उठाए छन् । ‘तिमीहरूले के गर्यौ ?’ उत्तर आएछ ‘इयरफोनले कान ढाके, स्वर निक्कै ठूलो बनाएँ, अनि बाटोमा हिँडे ।’ टायर बाल्ने वा सार्वजनिक सम्पत्ति तोडफोड गरेर विरोध कम र विध्वंश ज्यादा मच्चाउनुभन्दा इयरफोन शैली उत्तम हो । घर बस्दा वाक्क लागेपछि लो वेस्ट जिन्स पहिरिएर अल्टरनेटिभ रकमा झुम्दै बाहिर निस्किनु र देशमा प्रजातन्त्रको पुनर्वहालीको महत्त्व बुझेर आन्दोलित हुनुमा पक्कै अन्तर छ ।
एक साता अघि त्यस्तै ‘अब केही गर्नुपर्छ’ भन्ने विचारका युवाको अनौपचारिक कुराकानीमा पुगेकी थिएँ । एक जनाले भने- ‘हामी सधैं गगन सिंहलाई ताकेर बस्न सक्दैनौं’ । अघिल्लो रात पूरै पार्टीमा डान्स गरेर बिताएका ती युवाको ‘गगन सिंह’ लाई अरूले गगन थापा भनेर सच्चाइदिनु परेको थियो । सोही छलफलमा अर्कीले भनिन्- ‘संविधानसभा रे, लोकतन्त्र, प्रजातन्त्र । सुन्दा-सुन्दा वाक्क लागिसक्यो । यसो हल्काफुल्का गफ गरौं । बरु एउटा ‘ज्यामइन सेसन’ राखौं । कति अल्छी लाग्दो कुरामात्रै गरेको ।’ छेवैका मेरा साथीले सानो स्वरमा भने, ‘अब तपाईंको दिमागले त्यस्ता कुरा भ्याउँदैन भने हाम्रो के दोष ?’ पन्ध्र बीस जनाको भेला र त्यत्रो मतान्तर । एकलाई संविधानसभाजति पट्यार लाग्दो अरू केही छैन भने अर्को त्यो बिना समस्याको समाधान देख्दैन । संविधानसभा र समावेशी प्रजातन्त्रको कुरा दुई दिन अगाडि रिलिज भएको सिनेमाको कथाबारे गफ गरेसरह विवाद गर्ने युवा देखेर दङ्ग नपर्ने कोही नहोला । तर त्यो सुन्दैमा ‘भेजा’ हुने युवा जमातलाई ‘काम नलाग्ने’ भन्ने अधिकार यो समाजलाई छैन ।
समस्या कहाँनिर छ भने राजनीतिको सोझो अर्थ सिकाइनु अगावै हामीलाई त्यो ‘फोहोरी खेल’ को पर्यायवाची शब्द हो भनेर परिचय गराइन्छ । भाषण दिन जान्नेलाई गफाडी वा धूर्त नेताका रूपमा प्रस्तुत गरिन्छ । महात्मा गान्धी र नेलसन मन्डेलाको जीवनी प्राथमिकताका साथ पढाइए पनि राजनीतिमा लाग्ने प्रोत्साहन कसैले दिँदैन । आँखा अगाडि राजनीतिका केवल दुई स्वरूप प्रस्तुत हुन्छन्- महात्मा वा दुरात्मा । वास्तविकता भने यी दुईबीच लुकेको छ । सबै मन्डेला र मार्टिन लुथर हुन सक्दैनन् र राजनीतिलाई त्यागको चरमोत्कर्षका रूपमा प्रस्तुत गर्नु व्यावहारिक होइन । ‘पैसा र पेसा’ द्वारा निर्देशित आजका युवालाई राजनीतिमा आकषिर्त गर्न त्यसमा करिअर बनाउने वातावरण हुनुपर्छ । हाम्रो पुस्ताले राजनीतिमा आदर्श व्यक्तिको अभाव र खराब प्रणालीलाई दोष दिएर बस्ने अवस्था पनि छैन । राजनीति हामी जिउने तरिका हो । यो गोलभेडाको बजार भाउ हो, केही वर्षमै चारबाट सात रुपैयाँ पुगेको बस भाडा हो । देशको नागरिकको हैसियतले आफ्नो बुझाइमा आउने प्रत्येक कुरा हो । अप्ठेरा लाग्ने राजनीतिक शब्दावली सुनेर जति नै ‘भेजा’ र ‘प|mस्टु’ भए पनि ठमेलका पार्टीमा स्वतन्त्रतापूर्वक रातभरि रुमल्लिने स्थितिको सुनिश्चितता गर्ने राजनीति हो । त्यसैले यसबाट उम्किएर जाने कुनै ठाउँ छैन । बरु यसैमा छिरेर, यसैलाई सकारात्मक दिशामा बदल्नु आवश्यक छ ।




mp 1:01 pm on August 21, 2006 Permalink |
Reading this reminds me of one of Plato’s quotes:
“Those who are too smart to engage in politics are punished by being governed by those who are dumber.”
anonymous 9:18 pm on August 21, 2006 Permalink |
प्रिय ब्लगर,
राजनीतिमा धेरै कम अपवादहरु मात्र ‘महात्मा’ बनेका छन् भने अधिकांश अरुहरु तिम्रै भाषामा भन्नुपर्दा ‘दुरात्मा’ बन्नपुग्छन्! तर यी दुई बाहेक अर्काथरि पनि छन् – राजनीतिमा राम्रो सम्भावना भएर पनि यसबाट वाक्कदिक्क भएर बिचैमा यसलाई त्याग्नेहरु । यसरि पलायन हुने प्राय: युवा राजनीतिकर्मीहरुको संख्या उल्लेखनिय छ तर ‘साँघु हाल्ने र फाल्ने दुवैथरिको नाम चल्छ’ भन्ने नेपाली उखान जस्तै थोरै महात्मा र अनगिन्ती दुरात्माहरुको राजनीतिक भीडमा उनिहरुको योगदान वा पलायन दुवैको उल्लेख भने कमै हुने गर्दछ ।
प्रश्न उठ्छ – किन राजनीतिबाट पलायन हुन्छन् त मान्छेहरु? यसको जवाफ खोतल्नुअघि उनिहरु, विशेषगरि युवापुस्ताका प्रतिनीधिहरु राजनीतितर्फ आकर्षित हुनुको कारण पहिल्याउनु जरुरी छ । जीवनका हरेक पक्षहरुसंग सम्बन्ध राख्ने राजनीतिले प्रत्याभूत गर्ने अधिकारहरुको संरक्षणका साथै यसैको शुद्धिकरणका लागि पनि केहि गरुँ भन्ने स्वच्छ भावनाले प्रेरित भएर उनिहरु राजनीतिमा प्रवेश गर्दछन्; यसैको छनक् तिम्रो लेखमा पाउन सकिन्छ । हो, पानीमा नपसि पौडिन सिक्नु असम्भव छ तर पोखरी, खोला, कुवा, सागर जे भनेपनि हुने नेपाली राजनीतिको प्रकृति र प्रवृत्ति दुवै अस्थीर अनि प्रदुषित समेत भएकोले यसका भेलहरु वा छालहरुसंगै बग्नसक्नेहरु र धमिलो पानीसंग एलर्जी नहुनेहरुले मात्र यसमा तैरिन सक्छन् । ‘परे पहाड नै ढाल्छु र समुद्र नै सुकाउँछु’ भन्ने आँट र अठोट समेत भएका युवाहरुको नेपाली राजनीतिमा प्रवेश प्राय: नैराश्यतासंगको साक्षात्कार बन्न पुग्छ ।
राजनीति आफैंमा खराब कुरा होइन, न त यसको उद्देश्य नै खराब हुन्छ । विडम्वना नै मान्नुपर्ला नेपाली राजनीतिको परिवेश यसैका (खल)पात्रहरुको कृयाकलापले गर्दा आम समाजमा घृणित नभए अप्रिय हुनपुगेको छ । आम सजिलो भाषामा भन्नुपर्दा जनताबाट चुनिएर सत्तामा जानु र उनिहरुको हितका लागि काम गर्नु राजनीति वा यसमा लाग्नेहरुको लक्ष्य रहेको हुन्छ । वास्तविकतामा राजनीतिले आफूलाई अङ्गाल्नेहरुबाट प्रशस्त समर्पण र अझ बढी त्यागको अपेक्षा राख्दछ; त्यसैले सोझो अर्थमा राजनीति एउटा ‘व्यवसाय’ कुनैपनि हालतमा हुनैसक्दैन साथै यसलाई ‘जीविकाको साधन’ मात्र बनाउन पनि असम्भवप्राय: हुनपुग्छ । ‘जोगी हुन कसैले राजनीति गर्दैन’ भन्ने उक्ति बाराम्बार सुन्न पाइने नेपाली राजनीतिक परिवेशमा र अझ भन्ने हो भने नेपाल जस्तै तेश्रो विश्वका गरिब मुलुकहरुकै परिप्रेक्ष्यमा समेत कसैले आफूलाई ‘भोगी’ बन्न नदिन कम्तिमा पनि राजकुमार सिद्धार्थले ‘बुद्ध’ बन्नका लागि गरेको जति त्याग र तपस्याको खाँचो पर्छ । नेपालमा राजनीतिले दिने आत्म-सन्तुष्टी अथवा प्रतिष्ठाले पेट भर्न नसकिने र पेट भरिएर पनि आकांक्षाहरुलाई सीमितता दिन नसक्ने मानविय (अव)गुणका कारणले नै राजनीति ‘भ्रष्टाचार’ को पर्याय बन्न पुगेको हो ।
ठूलो उत्साहकासाथ राजनीतिमा प्रवेशगर्ने युवाहरुले जब आफूलाई राजनीतिमा वा ‘भोगी’ के बन्ने भन्ने अनिर्णयको दोसाँधमा उभिएको पाउछन्- विरल अपवाद बाहेक कसैले पनि ‘जोगी’ बन्ने जोखिम उठाउन सक्दैनन्, धेरै जसोले ‘भोगी’ बन्न रुचाउँछन् र केहिले राजनीति नै त्यागिदिन्छन् ।
राजधानीका रुपमा ‘काठमाडौं’ शहरले नेपालको भाग्य वा दुर्भाग्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेगरेको छ र यहाँका रैथानेहरु चारभञ्ज्याङ्गभित्रको सेरोफेरोलाई नै ‘नेपाल’ भएको भ्रम पाल्छन्; तर यो शहरले वास्तविक नेपालको प्रतिनीधित्व गर्दैन र गर्नपनि सक्दैन – यसको पुष्टीका लागि काठमाडौंबाट धेरै टाढा हुम्ला वा बैतडी पुग्नुपर्दैन – शिवपूरी डाँडाको अर्कोपट्टी झरेपुग्छ अनि देखिन्छ वास्तविक नेपालको सानो तस्वीर! एकताका राजनीतिलाई सरकारी कलेजहरु ‘विद्या आर्जन’ गर्न बाहिरबाट आएका डेरावाल ‘मित्र’ हरुको जिम्मामा छाड्ने शहरिया एमटिभी युवा जमात पनि राजनीतितर्फ चासो बढेको थाहा पाउनु खुशीको कुरा हो । देशको राजनीतिप्रति युवापुस्ता सचेत हुनुपर्छ तर सक्रिय सहभागिताका लागि भने उनिहरुले अगाडीको बाटोका बारेमा एकपल्ट राम्ररी सोंच्नैपर्छ । कहिल्यै रिटायर नहुने नेताहरुले भरमार नेपाली राजनीतिमा ‘म्यानपावर’ को खडेरी छैन त्यसैले राजनीतिलाई एउटा ‘फेशन’ वा ‘पेशा’ भन्दा बढी केहि सम्झेर केवल ‘भावना’ मा नबगि के का लागि राजनीति गर्ने भन्ने परिपक्व निर्क्यौलका साथ युवापुस्तामध्यबाट कोहि यसमा हाम्फाल्छ भने सफलताका लागि शुभकामना !