Hey this was published in the Kantipur. Of course Written by AvinashiI loved it, take a read.
भदौ २९
पोहोर चैतमा स्नातक तह तेस्रो सेमेस्टरको परीक्षाको मुखैमा आएर मैले क्याम्पस छोड्ने निर्णय गरेँ । ‘ल ! किन ? के भयो ?’ प्रश्नै-प्रश्न ओइरो लागे । उत्तर दिनु सजिलो थिएन । छोडेँ त छोडेँ, अब कसैलाई कारण किन दिइरहनु ? त्यो निर्णयका पछाडि कारण नै नभएको चाहिँ होइन । न त त्यो कदम कुनै लहडीपन, आवेश वा मूर्खताको पराकाष्ठ नै थियो ।
‘कलेज ड्रपआउट ! ‘मैले जसरी क्याम्पस पढ्न छोडेकाहरूलाई संसारभरि दिइएको नाम । सुन्दा रमाइलो लाग्छ । संसारकै सबभन्दा धनी मान्छे माइक्रोसफ्टका बिल गेट्स पनि कलेज ड्रपआउट थिए रे । हा हा, चित्त बुझाउने बाटो । गुगलमा खोजे अरू पनि थुप्रै भेटिएलान् ।
‘कलेज ड्रपआउट’ हुनुमा मजा पनि छ, विशेषगरी पुनर्ताजगीे, तनावहीन र फरक अनुभवको तर यसमा धेरै बाध्यता छ, घाटा छ र साथै अनिश्चितता पनि । ‘पढ्न नसक्नेले क्याम्पस छाड्छन्,’ कलेज ड्रपआउटहरूको सन्दर्भमा आमधारणा हो यो । पछिल्लो समयमा देशमा स्कुल/कलेज ड्रपआउटहरूको संख्या ह्वात्तै बढेर गएको छ । हाम्रोमा सामान्यतया चार किसिमका स्कुल/कलेज ड्रपआउटहरू छन्- पहिलो, गरिबी वा अन्य पारिवारिक बाध्यताका कारण पढाइ छोडेर भारत, खाडी मुलुक वा अन्य देश गएकाहरू, दोस्रो सशस्त्र द्वन्द्वमा होमिएकाहरू, तेस्रो बिहेवारी वा बालबच्चा भएका कारण पढाइ छोडेकाहरू र
चौथो शैक्षिक असफलता वा अरुचिका कारण पढाइ छोडेकाहरू -जस्तै म) ।
मेरै कुरा खोतलौं, क्याम्पस छोड्नुको कारण थियो- दोस्रो सेमेस्टरको असफलता । म फेल भएँ किन भने मैले पढिनँ । मैले पढिनँ किन भने मलाई म फेल भएको विषय मनै पर्दैनथ्यो । अर्को कुरा, म राम्रो अंक ल्याएर पास पनि हुनसक्थेँ तैपनि म फेल भएँ किन भनेे सँगै परीक्षा दिने साथीको ‘कपी’ चिट गर्न मैले चाहिनँ । मैले जत्ति पनि नपढेका साथीहरू बरु पास भए तर मैले परीक्षाहलमा साथीको ‘कपी’ गर्नुभन्दा कलम टोकेर बस्नु उचित सम्झेँ । सायद म त्यतिबेला भीएस नयपालको उपन्यास ‘हाफ अ लाइफ’ को एउटा पात्रजस्तै मूर्ख स्वाभिमानी भएकी थिएँ, जसले महात्मा गान्धीको ‘अंग्रेजी शिक्षा बहिष्कार’ अभियानको प्रेरणाले परीक्षाको मुखैमा आएर आफ्ना सबै अंग्रेजी किताब जलाएको थियो । अहिले त्यो क्षण सम्झँदा हाँसो उठ्छ, कता कता दुःख पनि लाग्छ, ‘मैले किन चोरिन ?’ भनेर होइन कि हाम्रो शिक्षा र परीक्षा प्रणाली सम्झेर ।
परीक्षाको कुरा गर्दा मलाई याद आयो, मेरी कान्छीभाउजु, बिहे र बच्चा भएपछि कलेज जान पाउनुभएन र झन्डैझन्डै कलेज छोड्ने मनस्थितिमा पुग्नुभएको थियो तर अस्ति, पास हुने शून्य प्रतिशत आशाले परीक्षा दिन जानुभएको उहाँले फर्केर भन्नुभयो- ‘अर्को वर्ष त स्योर पास, किन छोड्नुपर्यो कलेज ? यो पालि पनि गाइड लेर गएको भए त ….!’
विशेषगरी अहिले धमाधम खुलिरहेका मोफसलका क्याम्पसको परीक्षा प्रणाली निकै लापरबाहीपूर्ण छ । तर विडम्बना, यही परीक्षाको तीन घन्टाले हाम्रो भाग्य कोर्छ । प्रश्नपत्रमा पढे-पढेको आयो भने, चिट ल्याएको आयो भने वा छेउछाउको नक्कल गर्न सकियो भने पास, नत्र वर्षभरि जति पढे पनि, जति जाने पनि, जति सक्रिय भए पनि फेल ।
मैले अघि पनि भनेँ, यो दसवर्षे सशस्त्र द्वन्द्वले देशलाई हजारौं स्कुल/कलेज ड्रपआउटहरू दिएर गयो -आशा गरौं, यो फेरि आउँदैन) । धेरै विद्यार्थीले माओवादी कार्यकर्ता वा छापामार हुनका लागि ‘यो बुर्जुवा शिक्षा’ भन्दै पढाइ छोडे । अब उनीहरूको भविष्य के होला ? आज बन्दुकको भरमा गाउँ, सहरलाई तर्साइरहेकाले भोलि हतियार व्यवस्थापन र शान्तिवार्ता सफल भयो भने यही ‘बुर्जुवा’ शिक्षा पढेर घच्चीका ‘प्रोलेटेरियट’ नेता बनेका पुष्पकमल र बाबुरामले -नेता त अरू पनि छन् तर माओवादी पार्टी भन्नेबित्तिकै आम जनमानसमा यिनै दुई नाम आउँछन्) ती ड्रपआउटलाई उनीहरूको आवश्यकता र महत्त्वकांक्षा अनुसारको रोजगारीको व्यवस्था कसरी गर्लान् ?
हुन त पढाइ छोड्नु भनेको रोजगारी वा सुखद् भविष्यबाट विमुख हुनु होइन । जस्तै मलाई नै हेर्नुस्, मैले क्याम्पस छोडेलगत्तै आफ्नो रुचिअनुसारको काम पाएँ, त्यो पनि पारदर्शी छनौटबाट । मेरा थुप्रै साथी छन्, विद्यार्थी जीवनमा असफल भए पनि पेसागत जीवनमा सफल । एकजना सफल पत्रकार मित्र छन्, न्यूज रुममा सफल भए पनि क्याम्पसमा त्यही विषयमा धेरैपल्ट फेल भए । पढाइ भनेको साँचो अर्थमा सिकाइ हो । स्कुल/कलेजमा फेल भए पनि हामीले ‘पढाइ’ बाट सधैं केही न केही जीवनोपयोगी कुरा सिकिरहेका हुन्छौं ।
मैले भन्न खोजेको के भने, विविध बाध्यता र विवशताले गर्दा पढाइ छोडेका वा बिगि्रएकाको कथा बेग्लै छ । त्यसमा धेरै हदसम्म राज्यको दोष छ -त्यसो त हाम्रो देशको कुनचाहिँ मामिलामा राज्यको दोष छैन र ?) तर मजस्तै स्वतस्र्फूत रूपमा ड्रप गरेकालाई समाजमा हेरिने दृष्टिकोण फरक छ, जुन फेरिनुु जरुरी छ । कलेज ड्रप गरेर, एक/दुई वर्ष वा अर्थ गुमाएर कुनै एउटा विद्यार्थीको जीवनमा आकाशै खस्छ जस्तो गर्नु भएन । मैले पढाइ छोड्ने कुराको वकालत गरेको होइन । तर हाम्रो शिक्षाको जुन ट्रेन्ड छ, अत्यन्त पट्यारलाग्दो तरिकाले वर्षौवर्ष कलेज धाइरहन पर्ने र तीनघन्टे मूल्यांकनको आधारमा पाइएको एउटा कागजको ‘खोस्टो’ -सर्टिफिकेट) लिएर रोजगारीका लागि अफिस-अफिस धाउँदै हिंड्नुपर्ने, यो अत्यन्त निराशाजनक छ । आमनेपाली युवामा छाएको चरम हतास मानसिकता पनि यसैको उपज हुन सक्छ ।
युवा स्वभावैले विद्रोही हुन्छन्, सधैँ नयाँ र फरक चिज चाहन्छन् । तर देशमा खाली एउटा सर्टिफिकेटका लागि वर्षौवर्ष कलेज धाएर जीवनका महत्त्वपूूर्ण समय कुनै रचनात्मक र सिर्जनात्मक उपयोगिताबिना खेर फाल्ने धेरै युवा छन् । कलेजमा राम्रोसँग पढ्नु र राम्रो अंक ल्याएर पास गर्नु धेरै राम्रो कुरा हो तर खाली सर्टिफिकेटको मुख ताकेर अरू शिक्षा इतर क्रियाकलापलाई गौण सम्झनुुचाहिँ ठूलो मूर्खता हो । मेरो मतलव, हाम्रो अगाडि विकल्पहरू धेरै छन् । यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ, सधैँ प|mस्ट्रेड भएर कलेजकै किताब वरिपरि घुमिरहनु ुपर्ने जरुरत छैन । विज्ञान र अन्य प्राविधिक विषयका विद्यार्थीका लागि मार्कसिट र सर्टिफिकेट महत्त्वपूर्ण हुन सक्छ तर अन्य सामाजिक विषयका लागि भने अहिलेको प्रतिस्पर्धात्मक जमानामा पढाइबाहेक अरू पनि क्रियाकलापमा संलग्न हुनु जरुरी हुन्छ । दुई कदम अगाडि बढ्नका लागि एक कदम पछाडि हट्नु जायज हुन्छ ।
पढाइको साथसाथै अन्य आपmनो रुचिअनुसारको रचनात्मक क्रियाकलापमा संलग्न हुनुले हामीलाई अझ बढी सिर्जनशील, मेहनती, जिम्मेवार र सीपयुक्त बनाउँछ र पढाइको महत्त्व बुझ्न र पढाइप्रति अझ बढी जवाफदेही हुन सिकाउँछ । जस्तै- अहिले मैले मेरो विद्यार्थी जीवनलाई पछाडि फर्केर हेर्दा, मेरो पढ्ने बानी तौरतरिका र कमीकमजोरीको राम्रो मूल्यांकन गर्न सक्छु र भोलि -म छिट्टै नै अर्को क्याम्पस भर्ना हुँदैछु) फेरि मैले पढ्न सुरु गर्दा मेरो विगतको शैक्षिक अनुभव र अहिलेको पेसागत अनुभवले मलाई सफल हुन धेरै सहयोग गर्नेछ । फेरि परीक्षा प्रणाली उही हो ! भैगो, धेरै निराशावादी कुरा नगरौं तर मेरो आत्मविश्वास छ, मेरो अबको शैक्षिक गतिविधि पहिलाको भन्दा धेरै चुस्त गतिमा जानेछ ।


