विचित्रका विरोध
Published in today’s Kantipur
‘के म राजेन्द्र भण्डारी हुँ ?’ गाडी चल्न छाडेको सुनेपछि बालुवाटारदेखि बालाजु पुग्नुपर्ने मेरा साथीले आक्रोश व्यक्त गरे । दुई साताअघि एका बिहानै अप्रत्याशित विरोध कार्यक्रमअन्तर्गत केही घन्टामै सडक अवरुद्ध पारिँदा साथीले हिँड्नुपर्ने भएको थियो । केही दिनअघि फेरि परिस्थिति दोहोरियो । ‘आज पनि राजेन्द्र भण्डारी भयौ त ?’ मैले उसलाई जिस्काएँ । ‘अरू त थाहा छैन,’ उसले जवाफ फर्कायो- ‘यस्तै हिँडिरहनुपरे अबको ‘साग’ मा पक्कै भाग लिनेछु ।’
हामी दुवै हिँड्न रुचाउँछौं । मध्यदिनको घाम होस् या साउने झरी, काठमाडौंका सडकमा हिँड्नुको मज्जा बेग्लै छ । एक बेरोजगार विद्यार्थीले पैदलयात्राको पक्षमा तर्क गर्दा तपाईंलाई ‘राम्रो बहाना’ जस्तो लाग्न सक्छ । तर चर्को भाडादरबाट तर्सेर पैदलयात्रीमा परिणत विद्यार्थीको काठमाडौंमा कुनै कमी छैन । कम्तीमा पनि हप्ताको एकपटक खुट्टा भाँचिनेगरी बाध्य भएर हिँड्नु नपरे त मलाई काठमाडौंको बासिन्दा हु भन्नेमै शंका हुन थाल्छ । हतारिँदै बिहान कलेज पुग्यो, दुई घन्टापछि सडक सुनसान पाउँदा पटक्कै आश्चर्य लाग्दैन । मानौं, राजधानीका सडक स्टेज हुन् र यहाँका घरी आक्रोशित त घरी हषिर्त जमातचाहिँ कलाकार । सरकारको पक्षमा होस् या विपक्षमा, मूल्य बढेको या घटेको, ड्राइभरद्वारा पैदलयात्री मारिएको या आपराधिक गुटले ट्याक्सीचालक हत्या गरेको निहुँमा हुने विरोधको काठमाडौंका सडकमा कुनै कमी छैन । विरोधको नाममा विरोध गर्नु यहाँको नवसंस्कृति हो भन्दा अत्युक्ति नहोला ।

१९ दिने अपि्रल क्रान्तिले जनतालाई अधिकार सम्पन्न तुल्यायो । देशलाई निरंकुशताबाट मुक्ति दिलायो तर त्यसले एउटा ‘लिगेसी’ पनि छाडेर गयो । आफ्नो अवाज सुनाउन सडक नै तताउनुपर्छ या विरोध सबैभन्दा प्रभावशाली माध्यम हो भन्ने गलत छाप छाड्यो । १९ दिनमा सम्पूर्ण राज्य व्यवस्था परिवर्तन हुन्छ भने आफ्नो दुनो सोझ्याउन एक दिन धर्ना र अनशन किन नबस्ने ? हामीलाई स्वतन्त्रताको पर्याप्त अनुभूति भएको छ तर लोकतन्त्रको बुझाइ बाइक हुइँक्याइ भएको छ । हेल्मेट नलगाउनुको मज्जा नै बेग्लै छ अरे । सायद सडक दुर्घटनामा परी सजिलै सुइँकिन होला । मोटरसाइकलमा तीन मात्रै किन, मान्छेको पिरामिड बनाएर वरपर गर्न पाउनुपर्छ भन्ने माग आउन बेर छैन।
बढुवाको निहँुमा निजामती कर्मचारीको विरोध, स्थायी हुन विश्वविद्यालय शिक्षकहरूको अनशन, त्यो माग पूरा भएको विरोधमा विद्यार्थीहरूको हाँसो जुलुस र सुविधाको माग गर्दै स्वस्थ्यकर्मीको हडताल । कम अंक आएको निहँुमा विद्यार्थीहरूद्वारा विश्वविद्यालयमा आगजनीको चलन त छँदैछ । हामी स्वयंलाई बाहेक वरपरका सबै कुरा परिवर्तन गर्ने हास्यास्पद चाह लिएर बढिरहेका छौं सबै लोकतन्त्रको नाममा ।

तेस्रो श्रेणी त्यही स्तरको अंक ल्याउनेहरूका लागि व्यवस्था गरिएको न हो । प्रतिस्पर्धा गरेर नियुत्तिm पाउ“m भन्नु त कहाँ हो कहाँ स्वतः नियुक्ति खोज्नेहरूको विरुद्धमा हाँसो जुलुस मात्रै होइन, महाअट्टाहास जुलुस निस्कनुपर्ने । समाजका विविध वर्ग र तप्काले नयाँ संरचनामा आफ्नो स्थान सुरक्षित गराउन खोज्नु स्वाभाविक होला तर संक्रमणकालमा यस्तै हो भन्ने बहाना पनि पुरानो भइसक्यो । हिंसाबिना विश्वइतिहासमै अभूतपूर्व परिवर्तन ल्याउने हामी नेपाली जनता त उदाहरण पो हुनुपर्ने होइन र ? विश्वका अन्य जनताको तुलनामा राजनीतिक दृष्टिले बढी चेलनशील भनिएका हामीले के त्यसको सही प्रयोग गरिरहेका छौं ?
बरु सदावहार विरोधका लागि बेलायतको लन्डनमा हाइड पार्क प्रयोग गरिएजस्तै काठमाडौंमा कुनै एउटा स्थायी व्यवस्था गरे कसो होला ? ३ सय ५० एकडको त्यस पार्कमा थरीथरीका प्रदर्शन हुन्छन् । स्याल मार्न पाऊँ भन्नेदेखि गाँजा खान पाउनुपर्यो भन्नेसम्मका र इन्धन मूल्यवृद्धिदेखि प्रहरी बलमिच्याइँविरुद्धका आवाज लिएर मान्छे त्यहाँ पुग्छन् । काठमाडौंमा पनि एउटा हाइड पार्क शैलीको विरोध क्षेत्रको आवश्यकता खड्केको छ । बरु सरकारले त्यो स्थायी विरोधस्थलमा एकजना प्रतिनिधि खटाइदिए हुन्छ ताकि त्यहाँ उठाइएका आवाजको रेकर्ड होस्् ।
अघिकार माग्दै हिँड्न साह्रै सजिलो छ तर कहिलेकाहीँ त कर्तव्यको पनि कुरा गरौं न । प्रसंग बाटोकै ल्याउँ । ठाउँठाउँमा ट्राफिक लाइटको व्यवस्था छ । पैदलयात्रीको अधैर्यलाई ध्यानमा राखेरै होला केही ठाउँमा सेकेन्डको गन्ती गर्न थालिएको छ । अक्षर नबुझ्नेका लागि हरियो र रातो मान्छेले पक्कै केही संकेत गर्छ होला । पढ्नेका लागि त भँगेराटाउके अक्षरमा ‘रातो बत्तीमा बाटो नकाट्नुहोला’ लेखिएकै हुन्छ । अरूको के कुरा, सर्ट पाइन्टमा ठाँटिएका विद्यार्थीले समेत बारखरी भुसुक्कै बिर्सेको नाटक गर्दै रातोमै बाटो काट्छन् ।
हरेकले आफ्नो दायित्व पूरा गर्ने हो भने बेथितिको सिर्जना हुने ठाउँ नै हुँदैन, होइन र ? अहिले हरेक क्ष्ाेत्रमा खोजिएको परिवर्तन त आफैंबाट सुरु हुनुपर्छ । अधिकारको प्राप्तिका लागि पहिले आफ्नो कर्तव्य पूरा गरेर त्यसको लायक हुनुपर्यो । जुलुस, धर्ना प्रजातन्त्रमा अधिकार माग्ने प्रचलित उपाय हुन् तर एउटा वर्ग या समूहकेन्दि्रत मागका लागि हजारौंको जीवनशैलीमा बाधा सिर्जना गर्नु कत्तिको जायज हो ? सडक र सार्वजनिक यातायात सबैको सरोकारको विषय हो । हिँड्नेहरूको स्वतन्त्रतामा कसैले दखल पुर्याउनु हुन्न । मनपराउनेहरू रुचिले हिँड्नु एउटा कुरा तर पुर्खा पहाडबाटै झरे पनि, सधै बालुवाटारदेखि लोकन्थलीसम्म पैदल हिँड्ने म पनि म्यारियन जोन्स पक्कै हैन ।



Ametya 3:33 pm on December 25, 2008 Permalink |
He He….I used to love in sandle when i was first in KTM and loved to see the environment being caught in BAND. But being regular of it , now i am getting hesitation.
Afnai Aagan Birano Lagna Thaleko Cha Achel Ta………