‘बस्नुहोस्’ नभन्नुको परिणाम 

म मनलागेको बेला मान्छे भेट्दा नमस्ते गर्छु, मन नलागेको बेला गर्दिन। मन लागेको छैन भने त घरमा बोलाएका पाहुना अगाडीसम्म पनि पर्दिन। सीधा हिसाबमा भन्नुपर्दा हाम्रो नेपाली समाजले खोजेजस्तो व्यवहारिक नारी म परिँन। तर म जति बटारिएको वा अफ्ठयारोमा फलेको फर्सी कहलिएपनि म एउटा मामलामा चाहिँ सायद व्यवहारिक नै कहलाउँछु होला। मेरो कार्यस्थलमा जो कोही आएमा वा घरमा मैले देखा पर्न चाहेको अवस्थामा कोही अगाडी परेमा म कुर्सी वा उपलब्ध अरु केहिमा बस्नका लागि आग्रह चाहिँ अवश्य गर्छु। त्यसैले हुनसक्छ मैले अहिले सम्म ‘बस्नोस्’ को महत्व नबुझेको। हुन त एकताका ठूला ठालूहरुसँग भेट्नुपर्ने काम हुँदा म बसेमा कुर्सी नै भाँच्चिने जस्तो गरी कसै कसैले अन्कनाउँदै ,मेरो उपस्थितिलाई पनि निकै समयपछि मात्र नोटिस गरेर ‘बस्नोस्’ भनेको बिर्सिहाल्नु त नपर्ने हो। तर दुखको कुरो मैले ती दिन बिर्सिएछु। कारण हुनसक्छ, आजकाल प्रायः सबैले भेट्दा वा अन्य कुनै काम पर्दा बस्नका लागि आग्रह गरिहाल्छन्। जस्तो कि मेरा हाकिम, जसको मसँग काम हुन त निश्चित नै भयो , उनको कोठामा एउटा नीलो कुर्सी छ। म उनी सामुन्ने पुग्ने बित्तिकै उनी ‘बस न’ भनिहाल्छन् । कुर्सीमा अरू कोहि बसिसकेको अवस्थामा चाहिँ ‘पल्लो कोठाबाट कुर्सी ल्याएर बस’ भन्छन्। कथम कदाचित् म उभिएको भेटिए भने पनि त्यो आफ्नै मर्जीले भन्ने बुझ्नुहोला।

मेरो क्युबीकलमा चाहिँ एक जोडी टेबल र कुर्सीका साथै अर्को भुई टेबुल भएकाले थप कुर्सी अटाउँदैन। साथीहरू आएमा म टेबुलका किताब पन्छाएर त्यहिँ नै बस्ने व्यवस्था मिलाइदिन्छु तर अन्य कोहि आएमा चाहिँ वरपरका कुर्सी बटुलेर सबैलाई बस्ने व्यवस्था मिलाउँछु। कुनै मान्छे आयो कि पहिलो चिन्ता वा आग्रह नै बस्नका लागि हुन्छ। यो सामान्य कुराबारे म किन लेखिराछु जस्तो लाग्यो होला , तर गएको हप्ता सम्म केहि जस्तो नलाग्ने ‘बस्नोस्’ भन्ने शब्द अस्ति देखि मलाई विशेष लाग्न थालेको छ। अवश्य पनि यसको कारण छ।
(More …)