उन्मुक्तिको दिन

This article is published in the Kantipur Daily today ( Bhadra 28, 2064 B.S.) I liked it because of the way it defines Teej as a day of Freedom for Women, it gives a nice explaination of why the tradition and all, a balanced view overall. And I felt grown up reading this too, I mean I don’t hold those ultra radical views of Teej, its personal choice after all. Just a while ago the radio was playing the song ” Poila jana pam” ( Let me Elope) by Komal Oli and we ( me and my sister) both agreed that it was a form of revolution too. Women seeking the freedom of choice. If someone wants to, there’s no stopping is there? We even said “Its Cool to elope” but after a minute of silence the discussion came back to ” But what fun is it to run away? I mean the guy is just a baggage that comes with the freedom of running away from home, its better to be on your own.” That’s it of our pointless discussions which never end, for now read this article by Indra Adhikari

उन्मुक्तिको दिन
-इन्द्र अधिकारी

तीज नजिकिँदा बीस वर्षअघि घरमा भएको वार्तालाप याद आयो । दिदी स्कुल शिक्षिका हुनुहुन्थ्यो, म र मेरा दाजु सोही विद्यालयका कक्षा चार र पाँचका विद्यार्थी । दिदी र मलाई स्कुल छुट्टी थियो, दाजुलाई थिएन । मलाई ताज्जुब लाग्यो र आमालाई यस्तो किन भयो भनेर सोधेँ ।

आमाले भन्नुभएको थियो, सत्य युगमा पार्वतीकी आमा-बाबाले विष्णुसँग बिहे गरिदिने निर्णय गरेको थाहा पाएपछि पानीसमेत नखाई शरीरलाई शिवको नाममा निराहार व्रत बसेकी थिइन् । उनले चाहेको वर पाइन् । तिमीहरूलाई पनि चाहेको कुरा पाउन व्रत बस्न छुट्टी भएको हो ।

नेपाली नारीको सर्वपि्रय पर्व तीजबारे मैले बुझेको ऐतिहासिक कथावस्तु छोटकरीमा यत्ति हो । आजकल कतिपयले यसको मूलमर्म ओझेलमा पारेर महिलाको मासिक धर्म हुँदा गल्तीवश हुनगएको छुवाछूतको पापबाट मुक्ति पाउन व्रत लिन प्रेरित गरेको पाइन्छ । कतिपयले पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिका लागि व्रत गर्नुपर्ने बताउँछन् ।

पहिलो प्रकारको व्याख्याले महिलालाई होच्याउनेमात्र होइन, मानव समाज र सृष्टिको समेत अपमान गरेको छ । दोस्रोले आफ्नो उन्नति-प्रगतिभन्दा अरूका लागि बाँच्नुपर्ने विषयलाई महत्त्व दिएर महिला वर्गलाई दोस्रो स्थानमा राख्न सिकाएको छ ।

धेरै नेपाली आज पनि तीजमा व्रत बस्छन् । हामीले असान्दर्भिक भइसकेको यसको धार्मिक प्रकारको व्याख्याबाहेक समय सान्दर्भिक र सकारात्मक व्याख्यातर्फ बहस लैजानसकेका छैनौं । ‘जसको बिहा उसको नजिक नल्या’ भन्ने नेपाली उखानजस्तै नेपाली समाजमा धेरैजसो छोरीले उनीहरूको बिहे कहिले, कहाँ र कोसँग हुँदैछ भन्नेसम्म पनि थाहा पाउँदैनन् । छोरीको इच्छा र चाहनाभन्दा पनि खानदान, परिपक्व उमेर र हरेक कोणबाट पाको व्यक्ति खोजिन्छ । ताकि भावी वरले छोरीलाई पूर्ण नियन्त्रण र पालनपोषण गरी सुरक्षा र संरक्षण दिन सकोस् ।

अनि ‘पाले पुण्य र फाले पाप’को सर्तमा छोरीलाई थर र गोत्रसमेत फेरिनेगरी दान दिइन्छ, जसमा माइतीको छोरीप्रति भावी जिम्मेवारीबाट मुक्त हुने चाहना देखिन्छ । तीज विवाहका लागि उपयुक्त साथी खोज्ने वा रोज्ने व्यक्तिको निर्विकल्प व्यक्तिगत अधिकारसँग गाँसिएर आएको छ, जुन अधिकारका लागि सत्य युगमा देवी पार्वतीले पनि उपवास बसेर संघर्ष गर्नुपरेको थियो । तीजको कथाको मुख्य सन्देश यही हो, जुन नेपाली समाजमा आज पनि सान्दर्भिक छ ।

पार्वतीको व्रत विश्लेषण गर्ने हो भने उनी इच्छाएको वर प्राप्तिका लागि कुनै अदृश्य शक्तिको तपस्यामा बसेको भन्दा पनि आफ्ना अभिभावकको निर्णय बदर गराउन र आफ्नो इच्छा कदर गराउन भोक हडताल गरेको बुझिन्छ । जसले उनका आमा-बाबालाई छोरीको चाहना पूरा गर्न बाध्य बनाएको थियो । यस कथाले महिलाको इच्छाशक्ति पहिचान गरेको देखिन्छ । पार्वतीलाई झैं सबै महिलालाई आज पति प्राप्तिको आवश्यकता नहुन सक्छ । पतिभन्दा अरू कुरा प्राप्त गर्ने प्राथमिकता हुनसक्छ । आवश्यकता फरक भए पनि आशय के हो भने सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै पक्षबाट ठगिएका नेपाली महिलाले सबै खाले समस्यासँग सम्झौता गर्नुभन्दा आफ्नो हैसियत माथि उठाउने लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता र निरन्तर तपस्या जरुरी छ । त्यसका लागि पार्वतीको कथामार्फत तीजले महिलामा हौसला प्रदान गर्छ ।

अर्कोतर्फ बिहेपश्चात महिला बारम्बार माइती जान पाउँदैनन् । अझै धेरैजसो महिलाको पेसा कृषि भएको र मनसुनमै खेतीबाली हुने भएकोले भदौ सुरुसम्म उनीहरूलाई सधैं असार पन्ध्रसरह हुन्छ । शारीरिक रूपले थाके-गलेको र मानसिक रूपले माइतीघरको न्यास्रो लागेको बेला ती महिलालाई तीजले फुर्सद लिने र माइतीमा जम्मा भएर भेटघाट गर्ने एउटा बहाना वा अवसर दिएको छ । अर्कोतिर अध्ययन वा जागिरको क्रममा घरबाहिर रहने महिलाको संख्या बढिरहेको अवस्थामा बाहिरको वातावरण, नयाँ ठाउँमा नियमित एउटै काममा लागिरहँदा अनुभव हुने तिक्तता हटाउन पनि यस पर्वले सहयोग गर्दै आएको छ ।

महिलाले दैनिक दिनचर्यामा भोग्दै आएका पीडालाई गीतको मध्ययमबाट पोखेर खुल्ला आकाशमुनि रहेको महसुस गरी रमाउनु तीजको अर्को सुन्दरता हो । महिलाले नाच्नु, गाउनुलाई अनुशासनहीन मान्ने नेपाली समाजले यस दिन त्यो छुट दिएको छ । यस अवसरलाई पनि महिलाले युगांैदेखि चलिआएका कुरीति र विसंगतिको नाचगानबाट भण्डाफोर गर्दै आएका छन् । यसले एकातिर महिलाको नृत्यकला र साहित्यिक सिर्जनशीलता विकास गराएको छ भने अर्कोतिर महिला अधिकारसँग सम्बन्धित विषयमा महिलाको चेतना विकासमा पनि सघाएको छ । यसै चलनमार्फत पञ्चायतकालमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिलाले जिल्लाका सदरमुकाममा महिला जम्मा गरी गीत र नृत्य प्रतियोगितामार्फत तत्कालीन संविधान र राजनीतिक पद्धतिको आलोचना र विरोध गर्ने गरेका थिए । तसर्थ तीजलाई कुनै धर्म विशेषसँग जोडेर हेर्नु वा व्याख्या गर्नुभन्दा पनि यसलाई महिला उन्मुक्ति पर्वको रूपमा मान्नुपर्ने देखिन्छ ।

स्वास्थ्य विशेषज्ञका व्याख्यामा अघिल्लो दिनको धेरै खुवाइले महिलाको स्वास्थ्यमा पर्नसक्ने असर ध्यानमा राखेरै तीजको दिनमा व्रत बस्ने चलन चलाइएको हो । किनभने तीजको अघिल्लो साँझदेखि अबेर रातसम्म महिलाले सबै आफन्तको घरमा घुमी-घुमी धेरैपटक मीठो खानेकुरा खान्छन् । व्रत एउटा योग पनि भएका कारण यो महिलाको तनमन दुवै स्वास्थ्यका लागि उपयुक्त छ । व्रत बस्नुको मतलब निराहार बस्नु होइन, बरु हल्का र सधैंभन्दा नयाँ खानेकुरा खाएर मन स्वस्थ र पवित्र राख्नु हो । व्रत निराहार बस्नुपर्ने भन्ने अपव्याख्याका कारण प्रायः नेपाली महिला तीज र पञ्चमीको दिन निराहार व्रत बस्ने गर्छन्, जसको कारण विश्वमै कमजोर स्वास्थ्यस्थिति भएका नेपाली महिलाले अनगिन्ती स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेछन् । कहिलेकाहीँ त तीजको भोलिपल्टै पञ्चमी पर्ने भएकोले महिला लगातार दुई दिन निराहार रहन्छन्, जसले उनीहरूको स्वास्थ्यमा हानि गरिरहेको हुन्छ ।

तीजका नाममा गरगहना र कपडा प्रदर्शनीको होडबाजी पनि बढ्दै गएको छ । यस्ता अर्थहीन प्रतिस्पर्धाले महिलाको समय दुरुपयोगमात्र होइन, सिर्जनशीलता लोप हुँदै जान्छ । बौद्धिकता र चेतनामा सङ्कुचन आउँछ । यस बाहेक दिदी-बहिनी नभएका पुरुष र दाजु-भाइ नभएका महिलाबीच आपसमा भाइ र चेली मानेर तीजमा बोलाएर खाना खुवाउने र तिहारमा टीका लगाउने चलन आएको छ । जसले दुवै पक्षलाई तीज र तिहारमा निराश हुनुको बदला रमाउन सघाएको छ । उपहारका नाममा ठूलो धनराशिको लोभमा आफ्ना माइतीचेलीलाई बेवास्ता गरेर कृत्रिम माइतीचेलीको सम्बन्ध गाँस्ने विकृति पनि बसेको छ । यसले माइतीचेलीको सम्बन्ध मजबुत पार्नुको सट्टा कमजोर बनाउँछ र तीज तथा तिहारजस्ता चाडपर्वको महत्त्व घटाउँछ ।

पतिको स्व्ाास्थ्य र प्रगति महिला विकासको अर्को पाटो हो तापनि महिलाले परिवार र समाजमा आफ्नो प्रभाव बढाउन, आत्मनिर्भर हुन र स्वतन्त्र रहन आफूलाई प्राथमिकतामा राख्न जरुरी छ । चाडपर्व मानवजाति, समाज र सभ्यताको निम्ति हुनुपर्छ । सबै संस्कृति र परम्पराको कुनै न कुनै अर्थ र महत्त्व अवश्य हुन्छ । कुनै कानुनी बन्धन नभएको तत्कालीन समाजलाई नैतिक बन्धनमार्फत सामाजिक सौहार्द कायम गर्न व्यवहारमा ल्याइएका प्रचलनलाई आज व्यक्तिका अधिकार र कर्तव्य राज्यका कानुनबाटै निश्चित गरिएको अवस्थाको विकसित समाजले रिठ्ठो नबिराई अनुसरण गर्नुपर्छ भन्नु आधुनिक समाजलाई युगौं पछि धकेल्न खोज्नु हो ।

-लेखिका, भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधी गर्दैछिन् ।)

Advertisements

One comment

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s