‘बस्नुहोस्’ नभन्नुको परिणाम

म मनलागेको बेला मान्छे भेट्दा नमस्ते गर्छु, मन नलागेको बेला गर्दिन। मन लागेको छैन भने त घरमा बोलाएका पाहुना अगाडीसम्म पनि पर्दिन। सीधा हिसाबमा भन्नुपर्दा हाम्रो नेपाली समाजले खोजेजस्तो व्यवहारिक नारी म परिँन। तर म जति बटारिएको वा अफ्ठयारोमा फलेको फर्सी कहलिएपनि म एउटा मामलामा चाहिँ सायद व्यवहारिक नै कहलाउँछु होला। मेरो कार्यस्थलमा जो कोही आएमा वा घरमा मैले देखा पर्न चाहेको अवस्थामा कोही अगाडी परेमा म कुर्सी वा उपलब्ध अरु केहिमा बस्नका लागि आग्रह चाहिँ अवश्य गर्छु। त्यसैले हुनसक्छ मैले अहिले सम्म ‘बस्नोस्’ को महत्व नबुझेको। हुन त एकताका ठूला ठालूहरुसँग भेट्नुपर्ने काम हुँदा म बसेमा कुर्सी नै भाँच्चिने जस्तो गरी कसै कसैले अन्कनाउँदै ,मेरो उपस्थितिलाई पनि निकै समयपछि मात्र नोटिस गरेर ‘बस्नोस्’ भनेको बिर्सिहाल्नु त नपर्ने हो। तर दुखको कुरो मैले ती दिन बिर्सिएछु। कारण हुनसक्छ, आजकाल प्रायः सबैले भेट्दा वा अन्य कुनै काम पर्दा बस्नका लागि आग्रह गरिहाल्छन्। जस्तो कि मेरा हाकिम, जसको मसँग काम हुन त निश्चित नै भयो , उनको कोठामा एउटा नीलो कुर्सी छ। म उनी सामुन्ने पुग्ने बित्तिकै उनी ‘बस न’ भनिहाल्छन् । कुर्सीमा अरू कोहि बसिसकेको अवस्थामा चाहिँ ‘पल्लो कोठाबाट कुर्सी ल्याएर बस’ भन्छन्। कथम कदाचित् म उभिएको भेटिए भने पनि त्यो आफ्नै मर्जीले भन्ने बुझ्नुहोला।

मेरो क्युबीकलमा चाहिँ एक जोडी टेबल र कुर्सीका साथै अर्को भुई टेबुल भएकाले थप कुर्सी अटाउँदैन। साथीहरू आएमा म टेबुलका किताब पन्छाएर त्यहिँ नै बस्ने व्यवस्था मिलाइदिन्छु तर अन्य कोहि आएमा चाहिँ वरपरका कुर्सी बटुलेर सबैलाई बस्ने व्यवस्था मिलाउँछु। कुनै मान्छे आयो कि पहिलो चिन्ता वा आग्रह नै बस्नका लागि हुन्छ। यो सामान्य कुराबारे म किन लेखिराछु जस्तो लाग्यो होला , तर गएको हप्ता सम्म केहि जस्तो नलाग्ने ‘बस्नोस्’ भन्ने शब्द अस्ति देखि मलाई विशेष लाग्न थालेको छ। अवश्य पनि यसको कारण छ।

केहि दिन अगाडी म ग्रामीण विकास र महिला अध्ययन बारे बुझ्न पद्ममकन्या क्पाम्पस, बागबजार पुगेको थिएँ। बिहानको साढे दस तिर त्यहँा पुगेपछि कसैको सुझाव अनुसार म भुइँतल्लाको एउटा कोठामा गएँ। कोठामा दुई महिलाहरू छुट्टा छुट्टै टेबुल र कुर्सीमा बसेका थिए। ती दुई कर्मचारीको टेबुल बीच चाहिँ एउटा कुर्सीमा , सायद त्यही क्याम्पसकी छात्रा थिइन्। दाँया तिरकी महिला कोठामा उपस्थित अन्य युवतीहरूसँग व्यस्त हुनाले म बाँया तिरकी महिला कहाँ पुगेँ। नीलो कुर्ता र रातो लिप्स्टिक लगाएकी उनी एउटा खुट्टा खुम्च्याएर कुर्सीमा बसेकी थिइन्। म उनको टेबुल अगाडि पुगेँ र जान्न आवश्यक लागेका सबै कुरा बारे सोध्न थालेँ। म उभिएकै छेउमा एउटा खाली कुर्सी थियो। कुरा लम्बिँदै गएपछि मलाई कुर्सीमा बस्न मनलाग्यो तर ती महिलाले ‘बस्नोस्’ भन्ने सामान्य शिष्टाचार पनि चटकै र्बिसेकाले म उभिरहेँ। अर्को विषय बारे बुझ्न चाहिँ थप दुई तल्ला उक्लिनु पर्ने रहेछ। कोठा ठूलो थियो। म छिरेर कुरा सुरू मात्र के गरेको थिँए म सँग बोलीरहेकी म्याडमको फोन आयो। क्यापसको कुनै कार्यक्रममा फोन गर्ने व्यक्तिको प्रस्तुतिकरण सम्बन्धित कुरा भइरहेको चाल पाएँ। तर उनको कुरा चलुन्जेल म उभिरहेको बारे कुनै वास्ता नभएको देख्दा आफैँलाई अप्ठयारो लागेपछि म कोठा वरिपरि नजर डुलाउन थालेँ। भित्तामा पूर्व राजा वीरेन्द्र र रानी ऐश्यर्यको तस्वीर थियो। एउटा चार्ट पेपरमा कसैले क्यापसका विभाग र पढाइ हुने विषयहरूको फ्लो चार्ट बनाएको रहेछ। उनी गफिँदै गर्दा मैले सोचेँ सायद उनको असिस्टेन्ट जस्ता लाग्ने दुई महिलाले चाहिँ मलाई बस्न भन्नेछन्। तर कसैले केहि भनेन। एकपटक त म आफैं बसिसकेको थिएँ तर सोफा नछुदैँ म दुविधामा उभिहालेँ। कोठामा दुई सेट सोफा थिए। खाली। फोनमा कुरा सिद्धिएपछि मैले फेरि कुरा सुरू गरेँ। ब्रोसर माग्दा उनले भर्ना हुने विद्यार्थीलाई मात्र दिने गरेको बताइन्। मलाई अचम्म लाग्यो। तर ‘ए’ बाहेक केहि भनिँन। पढाई हुने विषय वा कोर्स अफ स्टडी हेर्न चाहिँ उनले मलाई कोठामा म पछि आएकी अर्की महिलासँग जान भनिन्। ती महिलाले मलाई अनि इतिहास त तब रचियो जब एउटा सामानले भरिभराउ सानो कोठामा ती सज्जनले मलाई ‘बस्नोस्’ भनेर कोर्स अफ स्टडी खोज्न थाले! What a pleasant surprise! भन्छन् नि हो मलाई ठ्याक्कै त्यस्तै भयो!

घरमा यहि कुराभन्दा चाहिँ यस्तो चर्चा भयो।
‘प्राइभेट कलेजमा त टन्न पैसा लिन्छन् ‘बस्नोस्’ त भन्ने नै भए!’
सरकार त ठेलेर बस्नुपर्ने ठाउँ हो। ‘बस्नोस्’ को त आशै नगरे हुन्छ।
…………………………………………………………………………………….
म किन अरुलाई बस्ने आग्रह गर्छु? के मैले त्यो निजी व्यवसायिक क्षेत्रमा काम पाएर हो ? अवश्य पनि होइन। बस्न मिल्ने अवस्थामा उभिनुभन्दा बस्दा जो कोहिलाई पनि सजिलो हुन्छ। मलाई मेरा हाकिमले बस्नका लागि भन्दा म अझ रिल्याक्सड हुन्छु , मलाई आफ्ना कुरा राख्न सजिलो लाग्छ। यो त एउटा कर्मचारी वा ग्राहकसँग डिल गर्दा जान्नुपर्ने पहिलो कुरा नै हो नि। हुन त मलाई यो साधारण घटनाले बिना कारण सोच्न बाध्य तुल्याएको हुनसक्छ।

तर सधैँ कुनै पनि सरकारी निकायमा छिर्दा किन यस्तो हुन्छ? के सार्वजनिक निकायमा काम गर्ने मान्छेलाई उनीहरु सेवा गर्नका लागि सरकारमा छिरेका हुन् भन्ने कुराको रत्ति भर पनि ज्ञान हुँदैन? कि जागिरको सुनिश्चितता नरहुन्जेल मात्र शिष्टाचारको आवश्यकता पर्दछ? बस्ने आग्रह त न्यूनतम शिष्टाचारको कुरा हो।

कुनै व्यक्ति मुड अनुसार काम गर्ला तर सरकारी संयन्त्रमा छिर्नु भनेको नै सेवाको मुडमा व्यवसायिक जीवन बिताउने सचेत निर्णय लिनु होइन र? पद्यकन्यामा गएर “बस्नोस् पनि नभन्ने ठाउँमा को पढ्छ!” भन्ने महिलाहरु सायदै होलान्। म त भन्छु त्यस्ता कोही पनि हुँदैनन्। म पनि त्यस्तो भन्नेमा पर्दिन। त्यस्ता भन्न सक्नेहरु सरकारी क्याम्पसमा छिर्दा पनि छिर्दैनन्। मुख्य कुरो के हो भने शिष्टाचार पैसाको उपज होइन। अरुलाई पनि आफू जस्तै सजिलो होस् भन्ने विचार पैसा कमाउने मान्छेको विशेषता मात्र पनि होइन।

पद्यकन्याका कर्मचारी र प्रशासनलाई सर्वधारणलाई बस्नोस् भन्दा आफू सानो भइन्छ कि भन्ने भए भ्रम निवारण गर्नैपर्छ। एउटै कुर्सीमा वर्षौ वर्षसम्म मडारिँदा मडारिँदा त्यसले कार्यस्थलको प्राथमिक शिष्टाचार नै र्बिसाइदिन्छ भने त्यो कामको मजा नै के? सरकारी संस्थामा बस्नोस् भनेर साध्य पनि छैन भन्ने तर्क आउला तर त्यस ठाउँको स्रोत र साधनले भ्याएसम्म त गर्नुपर्दैन र? हुन त कुनै पनि सरकारी निकायमा छिर्दा सधैं यस्तै केहि ‘फुड फर थट’ मिल्नाले मेरा लागि चाहिँ सरकारी संस्था नै आइडियाहरुको खानी भएको छ। सायद अरुहरुका लागि पनि त्यस्तै होला। तर अब कतिन्जेल सरकार यस्तै अप्रभावकारी, अशिष्ट आदि आदि को मात्र पर्याय भइ बस्ने? लोकसेवा आयोगमा लडेर हजारौंको प्रतिस्पर्धाबाट छानिएका व्यक्तिहरुलाई यो निर्लज्ज तालले संस्था चलाएन लिइएको हो र? यो प्रणाली नै खराब छ भन्ने तर्कमा म कुनै तुक देख्दिन। प्रणाली भनेको के? के त्यो कुनै अदृश्य खराब शक्ति हो जसले सरकारी कार्यस्थल (जुन आफैैमा एउटा निर्जिव भवन मात्रै हो) त्यसमा छिर्ने बित्तिकै काममा मन नलगा भन्ने भाव जगाउँछ। के त्यहाँ कसैले बल्याक म्याजिक गरेको छ र?

प्रणाली त मान्छेले बनाउँछ। त्यो प्रभावकारी नभएमा त्यसलाई पनि मान्छेले नै फेर्छ। सरकारी कामले दिने जब सेक्यूरिटीले कर्मचारीलाई मात्तिने ठाउँ दिन्छ भने, कार्य दक्षता , कार्य कुशलताका आधारमा मात्र बेनिफिट दिइनुपर्छ। सरकारको बदनाम गर्नेहरुलाई जनताको करले किन पोस्ने? बिरोक्रेसीले त सरकार चल्ने हो , यसले त म जस्ता वर्षेनी निक्लिने स्नातक पासहरुलाई तान्न सक्नु पर्ने हो। आखिर गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले पनि त्यही सरकारलाई नै सावधानी गर्ने न हो , त्यसकै काम अरुमा पुर्यातउने र यो नीति र त्यो नीति ल्याउन उफ्रिने न हो? त्यसैले कुनै पनि क्षेत्रमा दिगो परिवर्तन ल्याउन तल्लीनहरुकालागि सरकारमा छिर्नु त एक आकर्षक रोजाइ हुनुपर्ने हो। र यी सब कुरा ‘नेपाल’ अब ‘नयाँ नेपाल’ भएकाले हुनुपर्छ भन्ने चाहिँ मेरो तर्क होइन। नयाँ नेपाल, पुरानो नेपाल, लोकतान्त्रिक नेपाल, गणतान्त्रिक नेपाल जस्ता नाराहरु समस्याका समाधान होइनन्। नयाँ नेपाल ‘भन्दैमा’ सरकारी निकायमा परिवर्तन पनि आउँदैन तर ती निकायमा परिवर्तन आए चाहिँ नयाँ नेपालको एक झल्को पक्कै पाइनेछ। अनि सायद यस्ता बस्नोस् नभन्नुको परिणामस्वरुप लेखहरु पनि लेखिनेछैनन्।

Advertisements

3 comments

  1. हाम्रो समस्याको एकदम मर्मस्थलमै प्रहार गर्नुभयो। यहि शिष्टाचाररहित मानसिकता हो हामीलाई अहिलेसम्म पछाडि राख्ने। जबसम्म यस्तो मानसिकता हामीले त्याग्न सक्दैनौं, जति राजनीतिक परीवरतन भएपनि नेपाल जहाँको तहीँ रहनेछ।

    सरकारी जागिर खानेहरु आफूले विना कुनै सुविधा करबलले काम गर्नुपरिरहेजस्तो ब्यबहार देखाउँछन्। झ्वाट्ट हेर्दा नीजि क्षेत्रमा तलब बढी देखिन्छ (त्यो पनि सबैमा हैन) तर रोजगारीको निश्चततता, बिदा, पेन्सन आदि सबै कोणबाट समग्र रुपमा हेर्ने हो भने उनीहरुले नीजि क्षेत्रमा काम गर्नेहरुभन्दा धेरै सुबिधा पाएको सहजै देख्न सकिन्छ। यो अबश्थामा त उनीहरु नीजि क्षेत्रमा काम गर्नेहरुभन्दा सक्षम, प्रभावकारी र शिष्टाचारी हुनुपर्ने हो। उसैपनि कम सुविधा पाएपनि धेरै पाएपनि, अलिकति शिष्टाचारी हुनुले कसैलाई बेफाईदा हुने पनि होईन।

    यहि तपाईँले उल्लेख गर्नुभएको घटनामा पनि आफ्नो अगाडि कोहि दशौं मिनेटदेखि उभिरहँदा त्यो ब्यक्ति स्वयंलाई पनि अप्ठेरो लाग्नुपर्ने हो। तर यसैलाई आफनो बडप्पन मानिन्छ हाम्रो समाजमा।

  2. एकदम गजब।
    यो हामी धेरैले देखेको जानेको भोगिरहेको समस्या हो । तिमीले यसलाइ ।राम्रो लेखको रुपमा प्रस्तुत गर्यौ ।मलाइ खुशी लाग्यो ।

    अनि अब परिवर्तन त आफैबाट सुरु गर्ने हो । तिमीले प्लिज टेक अ सिट को महत्व राम्ररी बुझेको छौ । मैले पनि बुझेको छु । र यो बुझाईलाइ हामिले नै बृहत्त रुपमा प्राक्टीस गर्नुपर्छ र फैलाउनुपर्छ ।

  3. If u caught me some day , then u can see the result of it……My hand has a wrist watch which shows that your each activities are being watched….and judged too…

    While being in CHAUTARA of Biratnagar when old persons used to come, i just used to leave the place to sit for them ……..but never said BASNOS…..just UTHI DINTHE BASNA KO LAGI…..and that phenomenon was being watched as well as judged by a person who gave me that watch saying do progress in ur life…

    My eyes were too watery at that time…you just reminded me that…Thanks for that

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s