इमान्दारिता भन्ने पनि त कुरा हुन्छ भाइ !

हिजो आज म खाना खाए पछि पनि केहि बेर मध्यान्न गफगाफको श्रोता रहनाले बेग्लै अनुभव गरिरहेकी छु। हरेक दिन खाना पश्चात् वा खाना खाँदा खाँदै एक नयाँ विषय बहसका लागि अगाडि सारिन्छ। नेपाल भारत सम्बन्ध, नेपालीहरूमा व्याप्त हीनताबोध, मानव स्रोत व्यवस्थापन आदि गएका दिनहरूमा चर्चा भएका विषयहरू हुन्। मानव स्रोत व्यवस्थापन र नेपालीहरूको पछ्यौटेपन बीच चाहिँ अन्योन्याश्रित सम्बन्ध स्थापित गरिएको थियो। त्यस विषयमा गफ चलिरहदाँ उनले बडो घतलाग्दो कुरा गरे ―

“यो घ्यू, तेल, चाउचाउ लगायत अन्य खाद्य सामाग्री हामी किन–बेच गरिने कुरा हुन् भन्थ्यौँ नि , अहँ त्यसो होइन रहेछ। यो घ्यू, तेल, चाउचाउ आदि इत्यादि त हामीले ‘कन्ज्यूम ‘ गर्ने कुरा हुन्। किन–बेच त यहँा नैतिकता, प्रोफेशन्यानिजम, अनेष्टि, इथिक्स को हुन्छ। ती चाँहि किन्ने र बेच्न कुरा रहेछन् बुझ्यौ? ”


अनि दिउँसो के त्यो दिव्य ज्ञान प्राप्त गरेको थिएँ बेलुका किन–बेचको प्रत्यक्षदर्शी नै पो भएँ! सधै, बितेका लगभग पाँच वर्षदेखि अनवरत रुपमा गर्दै आएको एउटै काम गर्दैथिएँ : नेपाल यातायातमा यात्रा। बस चढेपछि अवश्यम्भवी घटना घट्यो,कन्डक्टरले बस भाँडा मागे। मैले परिचयपत्र देखाउँदै सात रूपिँया दिएपछि कन्डक्टरले थप एक रूपिँया मागे। बिहान त्यहि नेपाल यातायात चढ्दा कन्डक्टर आफैंले दस दिँदा तीन फिर्ता दिने अनि बेलुका उत्तिकै दुरीको यात्रा गर्दा चाहिँ थप एक रूपिँया माग्ने? उसै त दिव्य ज्ञान पाएको दिन मेरो त पारा चढ्यो। हुन त यो घटना पहिलो पटक भएको पनि होइन, न त म आफू नै यसबारे पहिलो पटक बोलेको हुँ तर हिजो त अत्ति नै भएपछि भनेँ ―“ म यो बस चढेकै मात्र पाँच वर्ष हुन आँटिसक्यो र मलाई यो गाडी भाँडामा हुने प्रत्येक घटबढ थाह छ। आठ रूपिँया त त्यसपछि दुई पटक इन्धनको मूल्य नघट्दाको कुरा हो। इमान्दारिता भन्ने पनि त कुरा हुन्छ भाई। यसरी ठग्नु त भएन नि? ”

मलाई ‘इमान्दारिता’ को कुरा गर्दा चाहिँ किन हो त्यो भाषा नै नबुझ्ने मान्छेसँग कुरा गरेजस्तो लाग्यो, अङ्गेजीमा ‘ब्याङ्गि योर हेड अगेस्ट द वाल’ भन्छन् नि हो त्यस्तै कुनै उपलब्धीविहीन काम गरेजस्तो एकदमै दिक्क लाग्यो। बोल्नेबित्तिकै एकछिन त त्यो मान्छेसँग इमान्दारिताको कुरा गरेर इमान्दारिताकै बेइज्जत गरेजस्तो पो लाग्यो! ऊ इमान्दारिता के के भनेर बरबराउँदै थियो मैले त सुन्न पनि सकिँन। एक रूपिँया दिएँ र जानी जानी ठगिएँ। कस्तो निरीह जिन्दगी! म त धन्न बोलेर ठगिएँ तर यहाँ नबोलेरै ठगिने हजार छन्। फेरि कति पटक मात्र भन्ने? एक दुई दिनको कुरा भए पो भन्ने यहाँ त सधैँ त्यही गाडी चढ्नुपर्छ ,सोच्दा पनि वाक्कै लागेर आउँछ।

इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमै सबैभन्दा बढी हुँदा कोटेश्वरदेखि बालुवाटारसम्मको बसभाँडा चौध रुपियाँ थियो। नेपाल यातायातकै भित्तामा पनि त्यो दर टाँसिएको थियो। त्यसका बस चालक र कन्डक्टरले गर्जदैँ ‘ होइन पन्ध्र हो ‘ भनेपनि वास्तविकता चौध नै हो। आजकाल त त्यो दर टाँसिएको कुनै गाडी चल्दैन, चलोस् पनि किन ठग्ने त्यत्रो अवसर जो गुम्नेछ। चौध भएपछि इन्धनको मूल्यमा दुईपटक गिरावट आइसक्यो तर अहिले पनि त्यो रुटको भाँडा चौध नै छ। भएन त गज्जबको कुरा? हाम्रा पूज्य ठग शास्त्रमा विद्यावारिधी गरेका नेपाल यातायात गुरुजी र उनका चेलाको तर्क चाहिँ सधैँ के हुन्छ भने पहिले भाँडा १५ थियो अहिले चाहिँ चौध भयो रे। अब इन्धनको मूल्य दुई पटक घट्दा पनि भाँडा नघट्नु फेरी अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने घटबढबाट बच्नका लागि अप्नाइएको ‘शक अर्ब्जबिङ्ग मेकानिजम’ भए त्यो स्पष्ट रूपमा भन्नुपर्यो। हुँदै नभएको कुरा गरेर म जस्ता हजारौँ नेपाल यातायातका यात्रुहरू दिनदहाडै लुट्नु त भए नि !

यो देश नै लुटेराहरुको अखडा हो भन्ने सोच बनाइसकेकाहरुका लागि त लुटिनु सहज हुनसक्छ तर यसरी लुटिएको चाल पाएता पनि केहि आशा छ है भन्न ठान्नेहरुका लागि त यहाँ बाँच्न साह्रै गाह्रो कुरो हो। मलाई सबैभन्दा दिक्क लाग्ने कुरा चाहिँ के भने यहाँ हरेक कुरा मान्छेमा भर पर्छ ,कुनै प्रणालीमा हैन। जो बसमा कराउँछ त्यो ठगिदैन। कन्डक्टरसँग मुखा मुख गरेर भएपनि पैसा चाहिँ फिर्ता पाइन्छ। अब यो कुरालाई पनि देशको सङक्रमणकालीन अवस्थासँग लगेर जोड्न मिल्ला तर व्यक्ति स्वयंमा इमान्दारिता भन्ने कुराको एक अंश पनि बाँकी छैन भने वास्तवमै नयाँ नेपाल बनेपनि के चाहिँ हुन्छ र?

एक बस यात्रुको हैतियतले मेरो एउटा सपना छ। सपना के हो भने , कन्डक्टरलाई कहिले इमान्दारिताको पाठ सिकाउन नपरोस्, पाठ त के पैसा लिनु र दिनु बाहेक एक शब्द पनि बोल्न नपरोस्। बस चढ्दा कहिले पनि ठगिएको अनुभव गर्न नपरोस् र सपनाका उत्कर्ष चाहिँ कन्डक्टर बिहीन बस चढ्न पाउँ ( एकछिनलाई त्यसले निम्त्याउने थप बेरोजगारीको समस्या बिर्सिदिउँ ) ताकि मलाई कहिले पनि कन्डक्टरले नाक कोट्याएको वा अन्य कुनै यात्रुले दस रुपियाँको नोटले दाँत कोट्याएको देखेपछि हतार हतार पैसा फिर्ता नहुने गरी बस भाँडा खोज्नु नपरोस्।

अन्तिममा ,आज नेपाल यातायातमा सुनिएको यो उद्घोष : ‘पुल्चोक जाँदा ट्याक्सीमा नोकिया ३…. मोडेलको मोबाइल हराएकाले सो फेला पार्ने व्यक्तिलाई ५५…… नम्बरमा फोन गर्न आग्रह गरिन्छ। मोबाइल भित्रको कार्ड फिर्ता गरे , उक्त मोबाइल सहित पाँच हजार पुरस्कार पनि प्रदान गरिनेछ। ‘

कस्तो हास्यास्पद कुरा ! अर्काको हराएको मोबाइल बुझाउन जाँदा पनि उल्टै त्यहि मोबाइल पुरस्कार पाउनु छ ! मानौं कि यो देशमा कुनै इमान्दार व्यक्ति छन् भन्ने त कसैलाई विश्वास नै छैन। मानौँ कि अर्काको सामान फिर्ता गर्ने व्यक्ति फेला पार्न यहँा ढुङ्गामा देउता खोज्नु सरह भएको छ र इमान्दार व्यक्ति सबै पुरस्कारका लायक छन् किनभने चोर्नु, ठग्नु, लुट्नु त यहाँको संस्कृति हो। सायद कलि युग भनेको यहि हो। र यदि कोहि सामान फिर्ता गर्ने जस्तो साधारण काम गर्छ भने पनि त्यो पूजनीय छ, सम्माननीय छ किनभने त्यस्ता व्यक्ति अर्कै युगका अवशेष मात्र हुन्।

जय नयाँ नेपाल !

Advertisements

2 comments

  1. i always love reading ur articles….tesma i gave a 1 rupee bhanyeu ni tyo chitta bujena,…imandariko kura garisake pachi nadiyeko bhaye hunthyo…..but depends upon people…u didnt like to discuss with that conductor or mth else…sachikai ya imandarita nai chhaina manchhe haru ma…and lastly i loved that last line….”यदि कोहि सामान फिर्ता गर्ने जस्तो साधारण काम गर्छ भने पनि त्यो पूजनीय छ, सम्माननीय छ किनभने त्यस्ता व्यक्ति अर्कै युगका अवशेष मात्र हुन्।”

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s